भरतपुर (चितवन), १ भदौ – सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडक खण्डमा आज बिहान पहिरो खस्दा आवागमन रोकिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउन दुईवटा ‘जेसिभी’ प्रयोग गरिएको छ। चट्टानसहितको पहिरो खसेकाले सफा गर्ने काम भइरहेको र केहीबेरमै सडक सञ्चालन गर्ने तयारी भएको उनले बताए। पहिरोका कारण गन्तव्यतर्फ गइरहेका सवारीसाधन बीचमै रोकिएका छन्।


