Wednesday, June 10, 2026
Homeराजनीतिसीमा विवादको समाधान आवेगले होइन, कूटनीतिक संवादबाट खोज्नुपर्छ : भीष्मराज आङदेम्बे

सीमा विवादको समाधान आवेगले होइन, कूटनीतिक संवादबाट खोज्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान भावनात्मक प्रतिक्रिया वा उत्तेजनाबाट नभई कूटनीतिक संवाद र आपसी समझदारीमार्फत खोजिनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा कुनै द्विविधा नरहेको उल्लेख गरे। ती भूभाग समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित भइसकेको स्मरण गराउँदै उनले सीमा समस्याको दीर्घकालीन समाधान संयमित र गम्भीर कूटनीतिक प्रक्रियाबाट मात्र सम्भव हुने बताए।

आङदेम्बेले नेपाल कहिल्यै कुनै विदेशी शक्तिको उपनिवेश नबनेको उल्लेख गर्दै नेपालीहरूको स्वाभिमान र राष्ट्रिय पहिचान सधैं उच्च रहेको धारणा व्यक्त गरे। उनले स्वर्गीय गायक गोपाल योञ्जनको चर्चित गीत उद्धृत गर्दै नेपाली जनताको स्वतन्त्रता, आत्मसम्मान र राष्ट्रिय भावनाको चर्चा गरे।

उनले नेपालीहरू सगरमाथाजस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने राष्ट्रका नागरिक भएको बताउँदै राष्ट्रिय हित र सार्वभौमिकताका विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखे।

सांसद आङदेम्बेले हालै प्रधानमन्त्रीबाट आएको सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए। छिमेकी मुलुकले नेपाली भूमि अतिक्रमण गरेको विषय स्थापित तथ्य भएको उल्लेख गर्दै नेपालले पनि सीमा मिचेको जस्तो अर्थ लाग्ने अभिव्यक्ति उपयुक्त नभएको उनको भनाइ थियो।

उनले सीमा विवाद जस्ता राष्ट्रिय महत्वका विषयमा अभिव्यक्ति दिँदा थप जिम्मेवार, संवेदनशील र तथ्यपरक हुनुपर्ने आवश्यकता औंल्याए। साथै, यस्ता विषयको समाधान आवेग र आरोप–प्रत्यारोपबाट नभई संवाद, कूटनीतिक पहल र राष्ट्रिय सहमतिका आधारमा खोजिनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका