Tuesday, September 15, 2026
Homeसामाचारसीमामा छड्के अनुगमन बढाउँदै गृहमन्त्री गुरुङ, तस्करी नियन्त्रण र सुरक्षा सुधारमा जोड

सीमामा छड्के अनुगमन बढाउँदै गृहमन्त्री गुरुङ, तस्करी नियन्त्रण र सुरक्षा सुधारमा जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सिमावर्ती नाकाहरूमा नियमित रूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सुरक्षा निकायलाई पूर्वजानकारी नदिई गरिने अनुगमनबाट सीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न सहज हुने र सुरक्षाकर्मी थप जिम्मेवार तथा चनाखो बन्ने बताए।

गृहमन्त्री गुरुङका अनुसार अनुगमनका क्रममा मन्त्रालयका निर्देशन कार्यान्वयन भए–नभएको मूल्यांकन गर्नुका साथै तस्करी, लागुऔषध ओसारपसार र स्थानीय नागरिकले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी संकलन गरिन्छ।

उनले सीमा क्षेत्रका बासिन्दासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावका आधारमा मन्त्रालयमा छलफल गरेर कमजोरी पहिचान गर्ने र सुधारका उपाय कार्यान्वयनमा ल्याइने जानकारी दिए। सीमा नाकाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि स्थलगत अवस्थाको अध्ययन अपरिहार्य रहेको उनको भनाइ छ।

गृहमन्त्री गुरुङले प्रहरी संगठनका संरचनात्मक समस्याप्रति पनि ध्यानाकर्षण गराउँदै प्रहरी ऐनमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए। सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरी सीमित स्रोतसाधनका बीच कठिन परिस्थितिमा सेवा दिइरहेको उल्लेख गर्दै उनीहरूको योगदानको उचित मूल्यांकन हुनुपर्ने बताए।

उनका अनुसार धेरै सीमा नाकामा प्रहरी बस्ने भवन जीर्ण अवस्थामा छन्। कतिपय स्थानमा टहरा, चुहिने भवन र अपर्याप्त आवासीय सुविधाका कारण प्रहरीले कठिन परिस्थितिमा बसेर चौबीसै घण्टा सुरक्षा जिम्मेवारी निर्वाह गर्नुपरेको अवस्था रहेको उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका