काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा माछापालनका लागि सञ्चालित उक्त कार्यक्रममा काम नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल तथा भरपाई बनाएर रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
गाउँपालिका र प्रगतिशील कृषक समूहबीच १५ लाख रुपैयाँमा सम्झौता भएको थियो। तर माछाका भुरा, दाना, चना तथा कृषि सामग्री वितरण नै नगरी काम सम्पन्न भएको देखाएर ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
आयोगले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिषकुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको छ। उनीहरू चारै जनाबाट जनही ८ लाख २ हजार ८७८ रुपैयाँ बिगो असुलउपरको मागदाबी गरिएको छ।
अख्तियारका अनुसार तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी पद तथा अधिकारको दुरुपयोग गरेका थिए। उनले सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने तथा विवरण हेरफेर गर्ने कार्यसमेत गरेको पाइएको आयोगले जनाएको छ। सो कसुरमा शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको मागदाबी गरिएको छ।
त्यस्तै, कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीसँगको मिलेमतोमा गैरकानुनी लाभ लिने बदनियत राखी भ्रष्टाचारमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लगाइएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवविरुद्ध मुख्य अभियुक्तसरह सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै मुद्दा दायर गरिएको हो।


