सिरहा । ‘जेनजी’ आन्दोलनका क्रममा गत सोमबार र मङ्गलबार भएको तोडफोड र आगजनीपछि बन्द रहेको सिरहा जिल्ला अदालतले आजदेखि बन्दी प्रत्यक्षीकरण निवेदन दर्तालगायत सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ ।
आइतबार बसेको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता तथा सुनुवाइ, अभियोगपत्रसहित उपस्थित प्रतिवादीको थुनछेक बहस, जरुरी पक्राउ पुर्जी जारी गर्ने कार्य र समर्थन तथा म्याद थपसम्बन्धी सेवा सुरु गर्ने निर्णय गरेको हो ।
शाखा अधिकृत कञ्चन यादवद्वारा जारी सूचनामा भनिएको छ, “पछिल्लो विषम परिस्थितिमा देखा पर्न सक्ने सुरक्षा चुनौती र अदालतमा भएको आगजनी घटनालाई ध्यानमा राखी तत्कालका लागि यी चार सेवा मात्र सञ्चालनमा ल्याइएको हो ।”
गत साता आन्दोलनकारी समूहले अदालत परिसरमा तोडफोड तथा आगजनी गर्दा अभिलेख फाँट, तहशील शाखा, मुद्दा फाँटका मिसिल, सर्भर, इजलास चेम्बर, दशीका सवारीसाधन र जिल्ला न्यायाधीशका सवारीसाधन समेत क्षति भएका थिए । उक्त घटनापछि सम्पूर्ण सेवा स्थगन गरिएको थियो । अब भने अदालतले चरणबद्ध रूपमा सेवा सञ्चालन गर्ने जनाएको छ ।


