सिरहा — मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण सिरहा जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा ठूलो क्षति पुगेको छ। जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबाली प्रभावित भएका छन्।
सबैभन्दा बढी क्षति लहान नगरपालिकामा दुई हजार २३२ हेक्टर क्षेत्रमा पुगेको छ। त्यसपछि औरही नगरपालिकामा एक हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर क्षेत्रमा धानबाली नष्ट भएको जिल्ला कृषि शाखाले जनाएको छ।
लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बालीमा क्षति पुगेको छ। “किसानहरूले राम्रो मूल्यको आशामा उन्नत जातका धान लगाएका थिए, तर बेमौसमी वर्षाले ठूलो नोक्सानी पुर्यायो,” उहाँले बताउनुभयो।
पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फका अधिकांश क्षेत्र बोरिङ, भूमिगत सिँचाइ र कमला नहर प्रणालीबाट सिञ्चित भएका कारण त्यहाँ लगाइएका उन्नत जातका धानमा बढी क्षति पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।
“पाक्न लागेको धानमा वर्षाले क्षति पुर्याएपछि उत्पादन घट्ने निश्चित छ,” केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले बताउनुभयो। उहाँका अनुसार, “धानका बोट ढलेका छन्, जसका कारण दाना कुहिने र उत्पादनमा उल्लेख्य गिरावट आउने अवस्था देखिएको छ।”
केन्द्रका तथ्याङ्कअनुसार, जिल्लामा हाल ५४ हजार हेक्टरमा वर्षे र एक हजार ३४५ हेक्टरमा चैते धानखेती हुँदै आएको छ। अघिल्लो वर्ष ५५ हजार ३४५ हेक्टर क्षेत्रमा दुई लाख २८ हजार ६९६ मेट्रिकटन धान उत्पादन भए पनि यस वर्ष उत्पादनमा ठूलो कमी आउने अनुमान गरिएको छ।


