नेपालगन्ज : नेपालगन्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार नेपालगन्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा बिहान ६:३० बजेतिर बँदेलका ३ वटा पाठा विमानमा ठोक्किएका हुन् ।
बँदेलका तीन पाठा मरेका थिए । विमान चालक दलका ३ सदस्य र १४ यात्री भने सबै सकुशल रहेको सीता एयरका नेपालगन्ज म्यानेजर सन्दीप भण्डारीले जानकारी दिए । जहाजको अगाडिको टायरभन्दा माथिल्लो भाग (नोज ब्हील) मा क्षति भएको छ ।
बँदेल ठोक्किएपछि मंगलबारका लागि हुम्लाको उडान रद्द गरिएको छ । दुर्घटनाका कारण नेपालगन्ज विमानस्थलको उडान झन्डै डेढ घण्टा प्रभावित भएको प्रहरीले जनाएको छ। यसअघि पनि नेपालगन्ज विमानस्थलमा बँदेल ठोक्किएको थियो । केही दिनअघि दुम्सी पनि ठोक्किएको थियो। एसपी अधिकारीले भने, ‘ठूलो झाडी छ । त्यहीबाट आउँछन् । अझ झाडी सफा गर्नुपर्छ ।’


