सिन्धुली, १७ साउन— मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्डमा गए रातिदेखिको लगातार वर्षाले पहिरो र लेदो झरेपछि आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा लेदो र माटो जमेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार, ओखलढुङ्गाबाट काठमाडौँतर्फ गइरहेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक सडकमा फसेको छ।
त्यसैगरी, अन्य दुई स्थानमा पनि ट्रक फसेपछि तीन वटा ट्रक ‘होल्ड’ गरिएको बताइएको छ। गोलञ्जोर–६ कै बलेनीमा सडक माथिबाट खसेको पहिरोले पनि बाटो पूर्ण अवरुद्ध बनाएको छ।
सडक अबरुद्ध भएपछि खुर्कोट–घुर्मी सडकखण्ड हुँदै गुड्ने सवारीसाधनहरू खुर्कोटमै रोकिएका छन्। पूर्वी जिल्लाहरू — ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर आदि — बाट राजधानीतर्फ गइरहेका सवारीसाधनहरु केही समय प्रतीक्षा गर्न बाध्य छन्।
प्रहरीका अनुसार, पहिरो र लेदो पन्छाएर सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको छ। सिन्धुलीमा रातिदेखि लगातार वर्षा जारी रहेकाले थप जोखिमसमेत रहेको जनाइएको छ।


