पोखरा । कास्की जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग र केही प्रमुख पर्यटकीय मार्गहरूमा आइतबारदेखि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, कास्कीले आइतबार एक सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी विज्ञप्तिअनुसार लामो दूरीका सवारीसाधनहरूले दिउँसो ४ बजेसम्म आफ्नो यात्रा सम्पन्न गरिसक्नुपर्नेछ। गण्डकी प्रदेशको दोस्रो प्रमुख सडक मानिने सिद्धार्थ राजमार्गले भैरहवा हुँदै भारतसम्मको आवागमन जोड्ने भएकाले यसमा यात्रुवाहक र मालवाहक दुबै प्रकारका सवारीहरूको उल्लेख्य चाप रहेको छ।
छोटो दूरीमा चल्ने सवारीसाधनहरूको हकमा पनि प्रस्थान समय तोकिएको छ। कास्कीको छोरेपाटनबाट छुट्ने गाडीहरू साँझ ५ बजेसम्म प्रस्थान गरिसक्नुपर्नेछ।
जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना औंल्याएको भन्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति कास्की, स्याङ्जा प्रशासनसँगको समन्वय तथा त्यहाँबाट प्राप्त सूचनाका आधारमा यो निर्णय गरिएको हो।
प्रशासनले कास्की जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरूसमेत समेटेर सवारी समय तालिका निम्नानुसार तय गरेको छ:
काहुँखोला–सिक्लेस मार्ग:
काहुँखोलाबाट छुट्ने गाडी साँझ ५ बजेसम्म प्रस्थान गर्नुपर्ने
सिक्लेसबाट फर्किने गाडी बिहान ५ बजेपछि मात्र छुट्न पाउने
घान्द्रुक–विरेठाँटी/उल्लेरी मार्ग:
विरेठाँटीबाट छुट्ने गाडी साँझ ५ बजेसम्म
घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट छुट्ने गाडी बिहान ५ बजेपछि मात्र
लुम्ले–लान्द्रुक मार्ग:
लुम्लेदेखि लान्द्रुक जाने गाडी साँझ ५ बजेसम्म
फर्कने गाडी बिहान ५ बजेपछि मात्र
काहुँखोला–ताङतिङ मार्ग:
ताङतिङ जाने गाडी साँझ ४:३० बजेसम्म
ताङतिङबाट फर्किने गाडी बिहान ५ बजेपछि
प्रशासनले जारी गरेको यो निषेधाज्ञा साउन ८ गतेसम्म लागू हुनेछ।


