काठमाडौं । सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको दाबी गर्दै अन्तर्वार्ता दिएको आधारमा एक जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेका छन्। सार्वजनिक भएको एक भिडिओमा उनले सिंहदरबारको गेट तोडेर भित्र प्रवेश गरी गृह मन्त्रालयलगायत कार्यालयहरूमा आगो लगाएको दाबी गरेको देखिन्छ।
प्रहरीले गौतमविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यसका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ।


