काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशले भोगिरहेको समस्याको अगाडि आफ्नो व्यक्तिगत पीडा गौण रहेको बताएका छन्।
बिहीबार चितवन पुगेका उनले देशले पाएको दुःख ठूलो भएको उल्लेख गर्दै अबदेखि आफ्नोभन्दा देशको समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कहिलेकाहीँ व्यक्तिगत पीडाले भावुक बनेको हुन सक्ने उल्लेख गर्दै अब देशको पीडाको समाधानतर्फ केन्द्रित हुने बताए।
लामिछानेले आफू कुनै राजनीतिक दल वा नेताविरुद्ध गालीगलौज गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले देशको समृद्धि, स्थायी शान्ति, युवाका लागि रोजगारी सिर्जना, उद्योग स्थापना तथा गुणस्तरीय सेवा सबै नागरिकसम्म पुर्याउने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
उनले चितवनबाट सुरु भएको ‘निलो क्रान्ति’ को उल्लेख गर्दै उक्त अभियानलाई कमजोर पार्ने प्रयास भए पनि त्यसलाई जोगाएर अघि बढाइने बताए।


