वीरगन्ज। जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने तथा झुठा अफवाह प्रवाह गर्ने गतिविधिविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
हालै डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै समाजमा भ्रम फैलाउने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढ्दै गएको भन्दै प्रशासनले यस्तो चेतावनी दिएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपीलमा फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल खाताहरूको सूक्ष्म निगरानी भइरहेको उल्लेख छ। धार्मिक वा सांस्कृतिक द्वेष सिर्जना गरी कुनै समुदायको मानमर्दन गर्ने जो–कोहीलाई गम्भीर रूपमा लिई कानुनी दायरामा ल्याइने प्रशासनले स्पष्ट पारेको छ।
कानुनी सजायका प्रावधानहरू
धार्मिक स्थल तथा पवित्र स्थानको अपमान:
मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ अनुसार कुनै जात, जाति वा सम्प्रदायको धार्मिक आस्थामा ठेस पुर्याउने उद्देश्यले पवित्र मानिएको स्थान वा वस्तुमा हानिनोक्सानी गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
धार्मिक भावनामा आघात:
मुलुकी अपराध संहिताको दफा १५६ बमोजिम लेख, वचन वा संकेतमार्फत कसैको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
विद्युतीय अपराध:
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार इन्टरनेटमार्फत साम्प्रदायिक सम्बन्ध बिगार्ने, घृणा फैलाउने वा महिलालाई अपमान तथा हैरानी गर्ने सामग्री पोस्ट गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
प्रशासनले विद्युतीय माध्यमबाट महिलामाथि जिस्क्याउने तथा अमर्यादित गतिविधि गर्नेहरूलाई पनि सोही ऐनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ। समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै प्रशासनले कानुनको उल्लंघन नगर्न सबैमा अनुरोध गरेको छ।


