काठमाडौं । बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित अन्तिम चरणको तयारी भइरहेको छ। आयोजना सम्पन्न भएसँगै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन्। हाल आकस्मिक उद्धार, सुरक्षा व्यवस्थापन तथा सवारी सञ्चालनसम्बन्धी परीक्षण र अभ्यासका काम भइरहेका छन्। सुरुङमार्ग बाहिरको पहिरो नियन्त्रणसम्बन्धी केही काम भने अझै बाँकी रहेको उनले बताए।
कुल २ हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग प्रारम्भिक सम्झौताअनुसार सन् २०२३ अप्रिलभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीय अवरोधका कारण निर्माण अवधि लम्बिएको थियो।
आयोजनाले सुरुङमार्ग सञ्चालनका लागि टोल व्यवस्थापनको तयारीसमेत अघि बढाएको छ। सवारी चालकले नगद, क्यूआर कोड स्क्यान तथा विद्युतीय स्टिकर (ई-ट्याग) मार्फत शुल्क तिर्न सक्ने व्यवस्था मिलाइएको छ।
सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मा पाँच वर्षका लागि युसिन एआरटी कम्पनीले पाएको छ। करिब १ अर्ब १० करोड रुपैयाँ लागतको उक्त व्यवस्थापन सम्झौताअन्तर्गत कम्पनीले चौबिसै घण्टा सेवा सञ्चालन गर्नेछ। सुरुङमार्ग व्यवस्थापनमा करिब १५० जना जनशक्ति परिचालन गरिने जनाइएको छ।
आयोजनाका अनुसार नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
सरकारले यसअघि नै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रोबसजस्ता हलुका सवारीका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै, मिनीबस तथा मिनी ट्रकका लागि ८० देखि १२५ रुपैयाँ, बस तथा सिङ्गल एक्सल ट्रकका लागि २०० देखि २६० रुपैयाँ तथा मल्टिएक्सल ट्रक र भारी उपकरणका लागि २५० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ।
आयोजनाले असारभित्र सबै तयारी पूरा गरी साउनदेखि सुरुङमार्ग नियमित सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।


