Friday, August 14, 2026
Homeसामाचारसांसद सुनारको व्यवहारबारे आईजीपी कार्कीले सभामुखलाई गराए जानकारी

सांसद सुनारको व्यवहारबारे आईजीपी कार्कीले सभामुखलाई गराए जानकारी

काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई जानकारी गराएका छन्।

शुक्रबार सिंहदरबार पुगेर आईजीपी कार्कीले सभामुख अर्यालसँग भेट गरी लेखा समितिको बैठकमा भएको घटनाबारे जानकारी गराएका हुन्।

सभामुखसँगको भेटमा कार्कीले समितिको बैठकमा व्यक्तिमाथि मात्र नभई सिंगो प्रहरी संस्थामाथि नै मानमर्दन हुने व्यवहार भएको गुनासो गरेका थिए। सांसद सुनारको प्रस्तुतिले प्रहरी संगठनले अपमानित महसुस गरेको उनको भनाइ थियो।

जवाफमा सभामुख अर्यालले आफूले सार्वजनिक लेखा समितिका सभापति र सचिव तथा संसद्का महासचिवसँग घटनाबारे जानकारी लिइसकेको बताएका थिए। उनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आईजीपी कार्कीलाई उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्न आग्रह गरेका थिए।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले म्यादी प्रहरी तथा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र आईजीपी कार्कीमाथि प्रश्न उठाएका थिए।

प्रहरीमा जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा अनियमितता भएको दाबी गर्दै सुनारले छानबिनको माग गरेका थिए। उनले आईजीपी कार्कीमाथि समेत प्रश्न उठिसकेको भन्दै छानबिन निष्पक्ष बनाउन उनलाई पदबाट अलग गर्नुपर्ने धारणा राखेका थिए।

यसैबीच, आईजीपी कार्कीप्रति सांसद सुनारले गरेको व्यवहारबारे गृहमन्त्री सुधन गुरुङले पनि असन्तुष्टि जनाएका छन्। शुक्रबार संसद्को कानुन समितिको बैठकमा बोल्दै उनले आरोपकै आधारमा कसैको चरित्र हत्या गर्न नमिल्ने बताएका हुन्।

गृहमन्त्री गुरुङले कुनै विषयमा छानबिन आवश्यक भए त्यसलाई प्रमाण र प्रक्रियाका आधारमा अघि बढाउनुपर्ने धारणा राख्दै व्यक्तिको प्रतिष्ठामाथि असर पर्ने गरी आरोप लगाउनु उचित नभएको बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका