काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको आर्थिक र सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीले सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको दाबी गर्नुभएको छ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले समाजवादी क्रान्तिका लागि पार्टीले देश र जनताको हितलाई सर्वोपरि राख्दै बलियो सैद्धान्तिक आधार तयार गरेको बताउनुभयो।
पार्टी विभाजन गराउने प्रयासप्रति आरोप
अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गर्दै आएको भूमिकाबाट आत्तिएर कतिपय शक्तिहरू पार्टी विभाजन गराउन उद्यत रहेको आरोप लगाउनुभयो। “कम्युनिष्ट आन्दोलनमा भइरहेका टुटफुटका कारण समाजका आधारभूत आवश्यकताहरू सम्बोधन हुन नसकेको अवस्था छ,” उहाँले भन्नुभयो, “यसले जनतामा निराशा र आक्रोश थपिएको छ।”
पतञ्जली जग्गा प्रकरणबारे प्रष्टोक्ति
पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली समूहलाई जग्गा सट्टापट्टा गरिएको विषय नीतिगत निर्णय भएको भन्दै आफू निर्दोष रहेको दाबी गर्नुभयो। “संविधानद्वारा मन्त्रिपरिषद्लाई दिइएको नीतिगत निर्णयको अधिकार अन्तर्गत जनहितका लागि स्वास्थ्य सेवा सञ्चालन गर्न जग्गा उपलब्ध गराइएको हो,” उहाँले स्पष्ट पार्नुभयो।
उक्त प्रकरणमा पार्टीले कानुनविद्हरू सम्मिलित कार्यदल गठन गरिसकेको उल्लेख गर्दै उहाँले अदालतबाट चाँडै न्याय प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।


