काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्वाचनमय भए पनि आफू त्यसमा सहभागी हुन नसकेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले देशभर मनोनयन दर्ताको रौनक चलिरहेको भए पनि आफू भने उत्साहका साथ त्यसमा मिसिन नसकेको उल्लेख गरेका छन्। उनका अनुसार सोही दिन पर्सा, काठमाडौँ र रुपन्देहीका तीनवटा अदालतमा उनका मुद्दाको सुनुवाइ भइरहेको छ।
लामिछानेले पर्सा जिल्ला अदालतबाट भर्खरै निस्किएको जनाउँदै अन्य अदालतका आदेशहरू पनि आउन सक्ने बताए। उनले आफूविरुद्ध गरिएको अन्याय र अत्याचारको हिसाब–किताब नेपाली जनताले फागुन २१ गते निर्वाचनमार्फत ‘घण्टी बजाएर’ दिने दाबी गरेका छन्।
उनले सहकारीको बाटो नै नहिँडेको आफूलाई गनेरै नसकिने मुद्दा लगाइएको आरोप पनि लगाएका छन्। स्ट्याटसमा उनले भनेका छन्, देशका अपराधीहरू एक ठाउँमा जम्मा भएर आफूमाथि अत्याचार गरिएको इतिहासले देखिरहेको र लेखिरहेको दाबी गर्दै यस्तो अन्याय गर्नेहरू अन्ततः रसातलमा पुग्ने उल्लेख गरेका छन्।
लामिछानेले आफूलाई जिउँदै एउटा ‘गुण’ लगाइएको भन्दै त्यसको मूल्य चाँडै, बिना प्रतिशोध तिर्ने बताए। अन्त्यमा उनले आफू अभिमन्यु नभएको उल्लेख गर्दै अन्यायविरुद्ध दृढ भएर उभिने संकेत गरेका छन्।



