काठमाडौँ। सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन प्रसाद कोइरालाले थुनामुक्ति माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ। निवेदन न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
कोइराला, आफ्नी पत्नी गीता ढकालको हत्या गरेको आरोपमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन्। उनले निवेदनमा ६० प्रतिशत कैद भुक्तान भइसकेको भन्दै थुनामुक्ति माग गरेका हुन्। यसअघि २ हजार ४ सय कैदीले छुट पाउँदा आफूले नपाएको र २०७८ साउन ३० मै ५९ प्रतिशत कैद भुक्तान गरेको दाबी उनले निवेदनमा गरेका छन्।
०६८ माघ ८ मा नारायणगढबाट काठमाडौँ फर्कँदै गर्दा थानकोटबाट प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो। हत्या मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैदको फैसला गरेका थिए। सर्वोच्च अदालतले २०७७ असार १५ मा फैसला घटाएर ८ वर्ष ६ महिनामा झार्दा उनी थुनामुक्त भएका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले नाबालक छोराहरूको हेरचाह र शिक्षामा असर पर्न सक्ने भन्दै कोइरालाको सजाय घटाएको थियो।
काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो भने पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सो फैसला सदर गरेको थियो।


