भक्तपुर: प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले अनुगमन गरेको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनको अवस्थाबारे छड्के अनुगमन गरेको हो।
टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपीडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसीयू, सिटी स्क्यान जडान कक्ष तथा विभिन्न विभागहरूको निरीक्षण गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीहरूसँग भेट गरी सेवासुविधाबारे जानकारी लिएको थियो।
अनुगमनपछि मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने चेतावनी दिनुभयो। उहाँले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन जडान भइसकेपछि मेमोग्राम मेसिन सञ्चालन गर्ने, उच्च प्रविधिसहितको आँखा उपचार सेवा विस्तार गर्ने, १०० शय्यामाथिका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्न दिने, मापदण्ड पूरा नगर्ने अस्पतालहरूको दर्ता तथा नवीकरण रोक्ने, हेटौँडा अस्पतालमा मुटु रोग उपचार सेवा तथा भक्तपुर अस्पतालमा न्यूरोसर्जरी ओटी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो।
स्वास्थ्य सचिव डा. गौतमले ३०० शय्याको स्वीकृति प्राप्त भक्तपुर अस्पतालले पूर्ण क्षमतामा सेवा सञ्चालन नगरेमा शय्या कटौती गरिने चेतावनी दिनुभयो। साथै, पाँच वर्षका लागि अनुमति दिए पनि १३ वर्षदेखि सञ्चालनमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भवन खाली गर्न पत्राचार गर्ने निर्देशन दिनुभयो। उहाँले भक्तपुर अस्पताल क्षेत्रमा साझा औषधि पसल खोल्न रोक लगाइनुपर्ने धारणा व्यक्त गर्नुभयो।
प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगत दुई वर्षदेखि देशकै उत्कृष्ट अस्पताल घोषित भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अस्पतालमा सञ्चालन हुन लागेको क्याबिनको सङ्ख्या चारबाट १० पुर्याउन मन्त्रालयसँग सहयोगको आग्रह गर्नुभयो।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार अस्पतालमा दैनिक एक हजारदेखि एक हजार १०० बिरामी सेवा लिन आउने गरेका छन्।


