बरहथवा (सर्लाही): उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले यस वर्ष लिची बिक्रीको ठेक्का अहिलेसम्मकै सबैभन्दा बढी मूल्यमा लगाएको छ। केन्द्रले उत्पादन भएको लिची रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो।
बागवानी केन्द्रले गत चैत २७ गते न्यूनतम रु २५ लाख ५१ हजारको मूल्यसहित ठेक्का सूचना प्रकाशित गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले सो ठेक्का स्वीकार गरेको केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो।
“यसपटक बागवानीको लिची सबभन्दा बढी मूल्यमा बिक्री भएको छ, यसबाट राजस्व वृद्धि भएको छ,” प्रमुख यादवले भन्नुभयो, “उत्पादन र ठेक्का प्रक्रिया दुबै व्यवस्थित बनाएकाले राजस्वमा पनि सकारात्मक प्रभाव परेको हो।”
बागवानी केन्द्रमा हाल ८.५ हेक्टर क्षेत्रफलमा ६२१ बोट लिचीखेती गरिएको छ। गत वर्ष रु २७ लाख १५ हजारमा लिचीको ठेक्का लागेको थियो। उत्पादनमा वृद्धि भएपछि ठेक्का मूल्य पनि बढेको केन्द्रले जनाएको छ। यहाँ नौवटा जातका लिची उत्पादन हुँदै आएका छन्।
त्यस्तै, बागवानी केन्द्रले यहाँ उत्पादन भएको आँप बिक्रीका लागि वैशाख १६ गते सूचना प्रकाशित गरिसकेको छ। न्यूनतम ठेक्का मूल्य रु ७१ लाख ११ हजार निर्धारण गरिएको छ। आँपको ठेक्का यही वैशाख ३१ गते खोलिनेछ।
बागवानी केन्द्रअन्तर्गत करिब एक सय बिघा क्षेत्रफलमा आँपखेती गरिएको छ, जसमा करिब ६ हजार आँपका रूख छन्। तीमध्ये वर्षेनि झण्डै ३,५०० रूखले फल दिने गरेका छन्। गत वर्ष आँप रु २१ लाखमा ठेक्का लागेको थियो।
यहाँ उत्पादन हुने आँपका जातमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत समावेश छन्। ठेकेदार समूहले उत्पादन भएको लिची र आँप काठमाडौं, हेटौँडा, चितवनलगायत देशका प्रमुख सहरमा आपूर्ति गर्ने गरेका छन्।