Saturday, November 7, 2026
Homeसामाचारसरिबुङ पासमा १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन

सरिबुङ पासमा १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन

मुस्ताङ — मुस्ताङ र मनाङ जोड्ने प्रसिद्ध सरिबुङ पास पदमार्गमा गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।

लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास पार गरेर मनाङको फु गाउँतर्फ निस्किएका टोलीमा तीन जना अष्ट्रियन नागरिक र ११ जना नेपाली पथप्रदर्शक छन्। ती सबै मंगलबारदेखि हिमपातका कारण सम्पर्कविहीन भएका हुन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उनीहरू सम्पर्कविहीन भएको सूचना बिहीबार साँझ प्राप्त भएको हो। चीनको तिब्बतसँग जोडिएको दामोदरकुण्ड क्षेत्रको सरिबुङ पास करिब ६,००० मिटर उचाइमा पर्ने भएकाले त्यहाँ हाल भारी हिमपात भइरहेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ। “त्यहाँ खाने, बस्ने र आवश्यक सामग्रीको राम्रो व्यवस्था भएकाले उनीहरू सुरक्षित हुनसक्छन्,” प्रमुख जिल्ला अधिकारी भुसालले भने।

सम्पर्कविहीन टोली हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा गएको थियो। कम्पनीका व्यवस्थापक दीपक मैनालीका अनुसार टोली दुई साताअघि काठमाडौंबाट प्रस्थान गरेको थियो।

“हामीलाई आज बिहान मात्रै पथप्रदर्शकको फोन आएको थियो, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण स्पष्ट कुराकानी हुन सकेन,” मैनालीले भने। उनका अनुसार कम्पनीले गृह मन्त्रालयलाई जानकारी दिँदै फोन ‘ट्र्याकिङ’मार्फत उनीहरूको स्थान पत्ता लगाउन र आवश्यक परे हेलिकप्टर उद्धारको तयारी गर्न अनुरोध गरेको छ।

मैनालीले टोलीले सरिबुङ पास पार गरेर मनाङको फु गाउँ हुँदै चाँमे पुग्ने योजना रहेको बताए।

(रासस)

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका