काठमाडौँ: सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ। राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा केही विषयमा तयारी आवश्यक परेकाले अन्तिम सहमति हुन नसकेको हो।
सरकारतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नुभएको थियो भने महासङ्घतर्फ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोली सहभागी थियो। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, “केही विषय टुङ्गो लगाउन बाँकी छ। तर, समग्रमा वार्ता सकारात्मक रूपमा अघि बढिरहेको छ।”
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै गम्भीरताका साथ वार्ता भइरहेको स्पष्ट पार्नुभयो। उहाँले महासङ्घसँगको वार्ता यथाशीघ्र निष्कर्षमा पुर्याउने सरकारको चाहना रहेको पनि जानकारी दिनुभयो।
महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भएको र धेरै विषयमा अझै विस्तृत छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले वार्ताबाट समाधान निस्किएपछि मात्रै आन्दोलन टुंगिने उल्लेख गर्नुभयो।
यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्ता र सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने आश्वासन दिनुभएको थियो। शिक्षकहरू विद्यालय शिक्षा ऐन संशोधनलगायत माग अघि सार्दै गत चैत २० गतेदेखि राजधानी काठमाडौँमा आन्दोलनरत छन्।