Tuesday, August 4, 2026
Homeसामाचारसरकारले २१ देश र कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै

सरकारले २१ देश र कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै

काठमाडौं । नेपाल सरकारले विभिन्न मुलुक तथा कूटनीतिक नियोगमा रिक्त रहेका र कार्यकाल सकिन लागेका २१ वटा राजदूत पदमा नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आगामी दुई हप्ताभित्र नियुक्ति प्रक्रिया औपचारिक रूपमा अघि बढाइने तयारी गरिएको छ।

मन्त्रालयका अनुसार हाल रिक्त रहेका १६ वटा दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरी म्याद थपेर कार्यरत रहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र संयुक्त राष्ट्रसंघीय नियोग भियनासहित २१ नियोगमा नयाँ राजदूत नियुक्त गर्ने तयारी भइरहेको हो।

हाल नेपालका विदेशस्थित २८ वटा राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि तीन वटा स्थायी नियोग (न्यूयोर्क, जेनेभा र भियना) तथा आठ वटा महावाणिज्य दूतावास गरी कुल ३९ वटा कूटनीतिक मिसन सञ्चालनमा छन्।

तीमध्ये अहिले १५ वटा नियोगमा मात्र राजदूत कार्यरत छन् भने अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका र स्पेनस्थित दूतावासमा राजदूत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित तीन वटा नेपाली दूतावास बन्द गर्ने निर्णयसमेत गरिसकेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार यसपटक इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत राजदूत नियुक्ति गरिनेछ। प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गरिने सरकारको तयारी रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका