Saturday, December 14, 2024
Homeमुख्य समाचारसरकारमा नजाने महन्थ–उपेन्द्रबीच सहमति, मौका पाए जसपाकै नेतृत्वमा सरकार बनाउने !

सरकारमा नजाने महन्थ–उपेन्द्रबीच सहमति, मौका पाए जसपाकै नेतृत्वमा सरकार बनाउने !

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने सहमति भएको छ । बरु दुई नेताबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ ।
पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको बेला दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनाएको हो । दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्ने दुई नेताबीच सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मत सम्बन्धी प्रस्तावलाई फेल गराएर जसपा नेपालकै नेतृत्वमा बहुमतको सरकार बनाउन अघि सर्नुपर्ने अध्यक्ष यादवको प्रस्तावमा ठाकुर सहमत बनेको बताइएको छ ।

जसपा नेपालको नेतृत्वमा सरकार बनाउन पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पहल गर्ने प्रस्ताव पनि अध्यक्ष यादवको थियो । तर, यी प्रस्तावप्रति अध्यक्ष ठाकुर सन्तुष्ट नरहेको स्रोतले रातोपाटीलाई बतायो ।
माओवादी केन्द्र र काँग्रेस कुनै पनि हालतमा जसपा नेपालको नेतृत्वलाई स्वीकार गर्दैनन् भन्दै ठाकुरले यादवलाई ‘यसअघि पनि कुराकानी भएकै हो तर उहाँहरु (माओवादी केन्द्र र काँग्रेस)ले चासो देखाउनु भएन’ भन्ने जवाफ दिएका थिए ।

दुई नेताबीचको छलफलपछि अध्यक्ष ठाकुरलाई भेटेका जसपा नेपालका एक सांसदले भने, ‘महन्थ ठाकुरले उपेन्द्रजीको प्रस्ताव स्वीकार पनि गर्नुभएको छैन, अस्वीकार पनि गर्नुभएको छैन ।’ उनका अनुसार ठाकुरले ‘ठिक छ, पहल गर्नु राम्रो हो तर मलाई लाग्दैन कि काँग्रेस र माओवादी केन्द्र यसमा सहमत हुन्छन्’ भनेका थिए ।

यस्तै संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको विषयमा पनि छलफल गर्न सकिने ठाकुरको भनाइ रहेको बताइएको छ ।

सत्ता समीकरणका लागि अध्यक्षद्वय ठाकुर र यादवको अलग अलग धारणा थियो । अध्यक्ष ठाकुरले ओलीको विकल्पमा अर्को सरकार गठन नगर्ने अडान लिएका थिए भने अर्का अध्यक्ष यादव जसरी पनि ओलीको बहिर्गमन हुनुपर्ने अडानमा थिए । उनीहरुले आ–आफ्नो पक्षमा बहुमत सिद्ध गर्न हस्ताक्षर अभियान पनि चलाएका थिए । कार्यकारिणी समितिमा अध्यक्ष यादवको बहुमत देखिएको छ भने संसदमा अध्यक्ष ठाकुरको बहुमत छ ।

दुई अध्यक्षको विज्ञप्तिमा पार्टीमा उत्पन्न भएका समस्याहरुलाई आफू संगठित रहेको पार्टीभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर समाधन गरिनुपर्नेमा पनि जोड दिइएको छ । यस्तै पार्टीभित्र कसैले पनि व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, पार्टी नेताहरुविरुद्ध भ्रम फैलाउनेजस्ता कार्य अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने विषयमा पनि दुई नेताबीच सहमति भएको छ ।  रातोपाटीबाट

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका