काठमाडौँ — सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड आजदेखि लागू गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी दिएको हो।
यसअघि लागू रहेको ६ बुँदे मापदण्ड खारेज गर्दै सरकारले १३ कात्तिकमा मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड स्वीकृत गरेको हो। यो व्यवस्था आजैका मितिदेखि लागू भएको विभागले जनाएको छ।
विभागका अनुसार २०८० माघ १० देखि लागू भएको ६ बुँदे मापदण्ड तथा विगतमा जारी गरिएका अन्य भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको छ। नयाँ मापदण्डले अध्यागमन नियमन र यात्राको सहजीकरणबीच सन्तुलन कायम गर्न, अनियमितता नियन्त्रण गर्न र सुशासन प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
अध्यागमन विभागका प्रवक्ताले भने, “नयाँ मापदण्डले नागरिकको सुरक्षालाई सुनिश्चित गर्दै विदेश यात्रामा देखिएका समस्या समाधान गर्न खोजेको हो।” उनले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई यो जानकारी नागरिकसम्म पु¥याउन अनुरोध गरे।
विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि भिजिट भिसामा विदेश जाने नागरिकमाथि विगतमा लागू प्रावधानहरूले अनावश्यक झन्झट र बिचौलियाको प्रभाव बढाएको गुनासो प्राप्त हुँदै आएको थियो। त्यसैले अध्यागमन प्रशासनले सुधारका कदम अगाडि बढाएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “भिजिट भिसामा हुने अनियमितता नियन्त्रण, नागरिकको मौलिक अधिकार र स्वतन्त्र आवागमनको प्रत्याभूति गर्न, तथा स्वार्थ समूहको चलखेल रोक्न यो नयाँ मापदण्ड लागू गरिएको हो।”
नयाँ मापदण्ड अनुसार, भिजिट भिसामा प्रस्थान गर्न इच्छुक नेपाली नागरिकले निम्न कागजातहरू प्रस्तुत गर्नुपर्नेछः
१. कम्तीमा ६ महिना वैधता बाँकी भएको राहदानी,
२. सम्बन्धित देशको प्रवेशाज्ञा (VISA) वा ‘On Arrival Visa’ लागू हुने देश भए सो प्रवेशाज्ञा नचाहिने,
३. गन्तव्यसम्मको हवाई टिकट,
४. भ्रमणको उद्देश्य स्पष्ट उल्लेख गरिएको र त्यसको जिम्मेवारी स्वयम् लिने स्वघोषणा पत्र।
विभागले सबै नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नै जिम्मेवारीमा सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्न आग्रह गरेको छ।
(रासस)


