काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई सिंहदरबार परिसरबाटै पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र भएको आरोप लगाएको छ।
आइतबार दिउँसो सिंहदरबारभित्र प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सरकारको कदमप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको यो रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाज दबाउने निरंकुश चरित्रको संकेत हो। अध्यक्षसहित नेताहरूको गिरफ्तारीप्रति पार्टी घोर निन्दा र भर्त्सना गर्दछ, यसको सर्वत्र विरोध गरिनुपर्छ।”
राप्रपाले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमा अवरोध पु¥याइएको भन्दै आगामी दिनमा थप विरोध कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी दिएको छ।
पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, तथा जनजीविकासम्बन्धी विविध मुद्दाहरूका पक्षमा पार्टी अझ दृढताका साथ अघि बढ्ने उल्लेख गरिएको छ।
यसैबीच, प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष लिङ्देन, उपाध्यक्ष तामाङ, प्रवक्ता शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, तथा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्यलगायत सबै नेता रिहा भएका छन्। उनीहरूलाई प्रहरीले चार घण्टापछि हिरासत मुक्त गरेको हो।