Wednesday, May 6, 2026
Homeसामाचारसरकारको भ्रष्टाचारविरुद्ध कदमप्रति दुर्गा प्रसाईको समर्थन, केही विषयमा असहमति

सरकारको भ्रष्टाचारविरुद्ध कदमप्रति दुर्गा प्रसाईको समर्थन, केही विषयमा असहमति

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमान सरकारले भ्रष्टाचार, तस्करी र बिचौलियाविरुद्ध चालेका कदमहरूको प्रशंसा गर्दै आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको जस्तो’ अनुभूति भएको बताएका छन्।

शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रसाईले विगत चार वर्षदेखि आफूले उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अघि बढाएकोमा खुसी व्यक्त गरेका हुन्।

भिडियो सन्देशमा उनले देशका तस्कर र भ्रष्टाचारीहरूविरुद्ध निरन्तर आवाज उठाएको दाबी गर्दै विभिन्न स्थानमा सार्वजनिक रूपमा उनीहरूको विवरण सार्वजनिक गरेको बताएका छन्। त्यस क्रममा आफूलाई तत्कालीन सरकारले पटक–पटक पक्राउ गरेको पनि उनले उल्लेख गरेका छन्।

प्रसाईले देशका केही ठूला व्यापारी र बिचौलिया समूहहरूले बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्त तथा रेमिटेन्स क्षेत्रमा प्रभाव जमाएको आरोपसमेत लगाएका छन्।

हालै गृहमन्त्री र काठमाडौं महानगरको नेतृत्वले अघि बढाएको अभियानप्रति उत्साह व्यक्त गर्दै उनले सरकारले उठाएका कदमहरू सकारात्मक रहेको बताएका छन्। साथै, यस्तो अभियानमा सबै नेपालीले साथ दिनुपर्नेमा उनले जोड दिएका छन्।

यद्यपि, सरकारका सबै नीतिमा आफ्नो समर्थन नरहेको स्पष्ट पार्दै उनले केही अन्तर्राष्ट्रिय र नीतिगत विषयहरूमा असहमति रहेको बताएका छन्।

भिडियोको अन्त्यमा उनले विगतमा सार्वजनिक गरेका केही व्यवसायी र समूहहरूको नामसमेत उल्लेख गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका