काठमाडौँ— नेपालमा घुम्न आएर सम्पर्कविहीन हुने विदेशी पर्यटकहरूको निगरानी गर्न अध्यागमन विभागले ट्रयाकिङ प्रविधि विकास गर्ने तयारी थालेको छ। साथै, विदेशी पर्यटकको डिजिटल पहिचान प्रणाली पनि विकास गरिने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिजिटल पहिचान र सम्पर्कविहीन यात्रुहरूलाई ट्रयाक गर्न सकिने प्रविधि विकास गर्न लागिएको जानकारी दिए।
उनले अध्यागमन राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै व्यवस्थागत सुधारमा जोड दिए। “व्यक्ति खोजेर सुशासन हुँदैन, प्रणाली सुधार्नुपर्छ,” तिवारीले भने।
तिवारीका अनुसार, अध्यागमनका समस्याहरूको दीर्घकालीन समाधानका लागि संरचनात्मक सुधार आवश्यक छ। उनले विदेश जाने नेपालीको संख्या भिजिट भिसामा उल्लेखनीय रूपमा वृद्धि भएको तथ्यांक प्रस्तुत गरे।
सन् २०२१ मा करिब ९० हजार नेपाली भिजिट भिसामा विदेश गएका थिए भने सन् २०२५ जुलाईसम्मको तथ्यांक अनुसार यो संख्या १ लाख ३४ हजार पुगेको छ। तिवारीले यो प्रवृत्ति रोक्न असम्भव रहेको बताए।
विशेषगरी महिलाको संलग्नता तीव्र रूपमा बढेको देखिन्छ। सन् २०२१ मा भिजिट भिसामा जाने महिलाको अनुपात १४ प्रतिशत मात्र थियो भने सन् २०२४ मा यो संख्या ४२ प्रतिशत पुगेको छ।
युएई, ओमान, र कुवेत जस्ता खाडी मुलुकहरूमा पछिल्लो पाँच वर्षमा महिला यात्रुको संख्या पुरुषभन्दा बढी रहेको पनि अध्यागमन विभागको तथ्यांकले देखाएको छ।
महानिर्देशक तिवारीका अनुसार अध्यागमन प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएकोले विभागले डिजिटलिकरण प्रक्रियालाई तीव्र बनाउनेछ।


