Friday, March 6, 2026
Homeसामाचारसम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

दोधारा चाँदनी (कञ्चनपुर): कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि बल्ल निर्माण भइरहेको छ।

पुल निर्माणका लागि २०७२ साल पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार २०७५ पुसभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक समस्याका कारण काम समयमा अघि बढ्न सकेन।

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार प्रारम्भिक चरणमा तीनवटा पिलर निर्माण भए पनि फाउन्डेसनमा समस्या देखिएपछि निर्माण रोकिएको थियो। “पिलरको जगमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिमार्जन गरेर पुलको स्थान परिवर्तन गर्नु परेको हो,” उहाँले जानकारी दिनुभयो।

सबइन्जिनियर रानाका अनुसार हाल पुल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ र आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ठेक्का सम्झौताअनुसार भने काम माघ महिनासम्म सम्पन्न गर्नुपर्ने हो।

पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयका अनुसार हालसम्म पुलको झन्डै ६० प्रतिशत काम सकिएको छ।

दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि स्थानीयवासीले आवतजावतमा निकै कठिनाइ भोग्दै आएका थिए। बर्खायाममा खोलामा पानीको बहाव बढ्दा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

“नदीपारि बसाइ छ, वारिपारि खेतबारीको काम। बर्खामा ज्यान जोखिममा राखेर नदी तर्नुपर्थ्यो,” स्थानीय रघुवीर रानाले भन्नुभयो, “अहिले पुल आधा बनिसकेको छ, हामी निकै खुसी छौं।”

स्थानीयहरूको बहुप्रतिक्षित यो पुल आगामी केही महिनामै सम्पन्न हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका