Wednesday, June 24, 2026
Homeसामाचारसमृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा: उपराष्ट्रपति

समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा: उपराष्ट्रपति

काठमाडौं: उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रूपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि सहिदहरूको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन्।

सहिद दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता र सबैखाले विभेदको अन्त्यका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा जन्मिएका महान सपूत र वीरवीरङ्गनाहरूको स्मरण गर्दै लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, र समान अधिकारका लागि उनीहरूले प्राणको आहुति दिएको बताए।
उनले सहिदहरूले मुलुकलाई स्वतन्त्र, समृद्ध र शान्त नेपाल बनाउन प्रेरणा प्रदान गरेको उल्लेख गरे।

प्रत्येक वर्ष माघ १६ मा मुलुकभर विविध कार्यक्रम गरी सहिद दिवस मनाइन्छ। उपराष्ट्रपति यादवले यो दिन सहिदहरूको बलिदान, त्याग, साहस, वीरता र हौसलालाई स्मरण गर्ने मात्र होइन, उहाँहरूको मार्गदर्शनबाट प्रेरित हुँदै अघि बढ्ने दिन भएको बताएका छन्।

उनका अनुसार, सहिदहरूको सपना साकार पार्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न सबैले संकल्प लिनुपर्ने दिन पनि यही हो।

उपराष्ट्रपति यादवले सहिदहरूको आदर्श र मूल्यलाई आत्मसात गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनु आवश्यक रहेको बताएका छन्।
उनका अनुसार मुलुकको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आमनागरिक र समाज सबै एकताबद्ध भएर काम गर्नुपर्छ।

उनले सहिदहरूको सपना साकार पार्न सक्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्दै स्वावलम्बी, समृद्ध र शान्त नेपाल निर्माणका लागि सबैलाई दृढ संकल्पका साथ अघि बढ्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका