Saturday, November 7, 2026
Homeसामाचारसमयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा अन्तिम समयमा देखिने अत्यधिक चापका कारण उत्पन्न हुने समस्याहरू समाधान गर्न पहल भइरहेको जनाएको छ।

कार्यालयका अनुसार, अधिकांश बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिट गर्ने प्रवृत्ति कायम रहेकाले एकै पटक प्रणालीमा अत्यधिक चाप पर्नु प्रमुख कारण बनेको हो। यसले बोलपत्र प्रक्रियामा जटिलता सिर्जना गर्ने, फाइल अपलोडमा ढिलाइ हुने र प्रस्ताव छुट्ने जोखिम बढाउने गरेको कार्यालयले स्पष्ट पारेको छ।

कार्यालयले यस्तो अवस्थाका कारण विभिन्न गुनासा आउने गरेको बताउँदै विद्युतीय खरिद प्रणाली (e-GP) को सर्भरमा ठूला प्राविधिक समस्या देखा परे र प्रयोगकर्ताले पहुँच नै पाउन नसकेमा मात्र बोलपत्र बुझाउने म्याद थप गरिने नीति अपनाएको जनाएको छ।

कार्यालयले भनेको छ, “केवल अन्तिम समयमा देखिने प्रणाली चापका कारण मात्र म्याद थप गर्न सकिँदैन। सहभागीहरूले समयमै बोलपत्र प्रक्रिया पूरा गरी अन्तिम क्षणको जोखिम लिनु हुँदैन।”

त्यसैगरी, अन्तिम समयमा प्राविधिक सहायता माग गर्दा समस्या पहिचान र समाधानमा समय अभाव हुने भएकाले प्राविधिक सहयोगका लागि पनि समयमै सम्पर्क गर्न आग्रह गरिएको छ।

कार्यालयले कुनै प्राविधिक समस्या देखिएमा तुरुन्तै फोन वा अन्य माध्यमबाट सम्पर्क गरी आवश्यक सहजीकरण गर्न आग्रह गर्दै सबै प्रयोगकर्तालाई निर्धारित मितिभित्र नै बोलपत्र समर्पण गर्न पुनः अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका