काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–स्विट्जरल्याण्डबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, शान्ति प्रक्रिया र आर्थिक सहयोगका विषयमा छलफल भएको छ ।
सभामुख अर्यालले सन् १९५६ देखि स्थापित कूटनीतिक सम्बन्धलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको बताए । उनले स्विट्जरल्याण्डलाई सहभागितामूलक लोकतन्त्रको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन प्रयास गरिरहेको जानकारी दिए ।
उनले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे ।
संसदीय सहकार्यका विषयमा सभामुख अर्यालले उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध अझ बलियो बनाउने बताए । उनले स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा पुनः दोहोर्याउँदै संसदीय मैत्री समूहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
भेटमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग सहकार्य बढाउने प्रतिबद्धता जनाइन् । साथै नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियामा स्विट्जरल्याण्डको निरन्तर सहयोग रहने आश्वासन दिइन् ।


