Tuesday, May 20, 2025
Homeसामाचारसबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

राँझा (बाँके): नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयनमा ल्याएको छ। यही क्रममा उपमहानगरपालिका–९ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ।

वडा नम्बर ९ को आनन्दनगर टोलमा भवनको शिलान्यास गर्दै नगरप्रमुख प्रशान्त बिष्टले आफ्नै भवन नभएका सबै वडा कार्यालयका लागि व्यवस्थापन सुरु गरिएको जानकारी दिनुभयो। “केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “जग्गाको व्यवस्था भएपछि उपमहानगरपालिकाले आवश्यक बजेट प्रदान गरी भवन निर्माण अघि बढाउनेछ।”

उहाँले ठेकेदार कम्पनीलाई समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुका साथै बजेटको व्यवस्थापनका लागि आफू सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।

वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई सहज र प्रभावकारी सेवा दिनका लागि आधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको बताउनुभयो। चालु आर्थिक वर्षमा वडाको तर्फबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम उपमहानगरपालिकाबाट प्राप्त हुने जानकारी उहाँले दिनुभयो।

भवन निर्माणका लागि ४० लाख रुपैयाँको टेन्डर आह्वान गरिएकामा ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताइएको छ।

वडासचिव तेजबहादुर सिंहका अनुसार भवन निर्माण कार्य योजनाबद्धरूपमा सुरु भइसकेको छ र समयमै सम्पन्न गरिने लक्ष्य रहेको छ। हाल वडा नं. ४, ५, ६, ७, ८, ९ र ११ ले अझै पनि भाडाका घरबाट सेवा दिँदै आएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका