Tuesday, May 20, 2025
Homeसामाचारसडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज

सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज

इलाम: सूर्योदय नगरपालिकामा हाल ३३३ वटा स्थानीय सडक छन्, जसलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ चार वर्गमा वर्गीकृत गरिएको छ। तीमध्ये १३.५ किलोमिटर कालोपत्रे, ८३.८ किलोमिटर ग्राभेल र ६६८.९३ किलोमिटर कच्ची (माटे) सडक रहेको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो।

चार वर्षअघि नगरपालिकाले १२ महिना सवारी सञ्चालन गर्न मिल्ने ‘अल वेदर’ सडक निर्माण गर्ने लक्ष्यसहित नगरस्तरीय सडक सञ्जाल गुरुयोजना तयार पारेको थियो। २८ वर्षभित्र सम्पूर्ण सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो योजनाअनुसार हालसम्म १३.५ किलोमिटर कालोपत्रे र ८३.०८ किलोमिटर ग्राभेल सडक निर्माण भइसकेको छ भने बाँकी सडकको स्तरउन्नती कार्य जारी छ, नगरप्रमुख रणबहादुर राईले बताउनुभयो।

उहाँका अनुसार, नगर क्षेत्रभित्र स्ट्राटेजिक रोड नेटवर्क (SRN) अन्तर्गत तीन प्रमुख सडक—मेची राजमार्ग, फिक्कल–पशुपतिनगर, र छिपिटार–श्रीअन्तु—अन्तर्गत ४८.२० किलोमिटर कालोपत्रे, २.४५ किलोमिटर ग्राभेल र २.४१ किलोमिटर माटे सडक छन्। यस्तै, डिस्ट्रिक्ट रोड केयर नेटवर्क (DRCN) अन्तर्गत १०.८३ किलोमिटर कालोपत्रे, १६.१२ किलोमिटर ग्राभेल र ३६.५६ किलोमिटर मोटर योग्य कच्ची सडक रहेका छन्।

नगरप्रमुख राईका अनुसार, “पुरानै शैलीमा सडक निर्माण जारी राखेमा सम्पूर्ण सडक ग्राभेल गर्न १२८ वर्ष लाग्ने देखियो। त्यसैले गुरुयोजनाअनुसार योजनावद्ध र दिगो विकासका लागि काम थालिएको हो।”

सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीले आफ्नो घरअगाडि कालोपत्रे सडक बन्न थालेको दृश्यलाई ‘सपनाजस्तै’ भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँजस्तै, माटो, धुलो र खाल्डाखुल्डीले हैरान भएका अन्य बासिन्दा पनि सडक निर्माणले उत्साहित भएका छन्।

प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक निर्माणको लक्ष्यसहित हाल ती सडकहरू कालोपत्रेको चरणमा पुगेका छन्। वडास्तरीय मुख्य सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नती गरिँदै छ। स्थानीय निर्वाचनपछि जनप्रतिनिधिहरूले एक वडा, एक ग्राभेल सडकको अवधारणालाई प्राथमिकता दिएपछि हाल तीमध्ये धेरै सडकहरू कालोपत्रे हुँदै छन्।

सडक गुरुयोजनाअनुसार सबै सडक २७ वर्षभित्र ग्राभेल गर्न नगरपालिकाले हरेक पाँच वर्षमा ५९ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। यसको ५% वातावरण संरक्षण, ५% सर्भे, १५% सडक चौडीकरण र ७५% ग्राभेलमा खर्च हुनेछ। वर्तमान दररेटअनुसार कुल तीन अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सडक निर्माणले कृषकहरूलाई बजार पहुँचमा सहजता ल्याएको छ। सूर्योदय–१ का सन्तोष बजगाईंले अब स्थानीय उत्पादन मानेभञ्ज्याङ बजारसम्म सजिलै लैजान सकिने बताउनुभयो। पहिले पैदल वा घोडामा तीन–चार घण्टा लाग्ने यात्रा अहिले छोटिएको छ। सडक विकासले विद्यार्थी, बिरामी र कृषक सबैलाई राहत दिएको स्थानीयहरू बताउँछन्।

स्थानीय रबिन सापकोटा भन्छन्, “एकैपटक सबै विकास सम्भव छैन। २८ वर्षभित्र सफलतापूर्वक काम सम्पन्न गर्ने दीर्घकालीन लक्ष्य लिएको छौं।”

कृषक ख्यामराज रिजालले विगतमा वर्षामा बाटो नहुँदा दुग्धजन्य उत्पादन बगाएको र टमाटर कुहिएको स्मरण गर्दै अहिले समस्या समाधान भएको बताउनुभयो।

अनियोजित र अपूरा सडक विस्तारले पहाडी क्षेत्रका बासिन्दामा हिलो र पहिरोको जोखिम बढाएको भए पनि सूर्योदय नगरपालिकाले एक वडा, एक अलवेदर सडकको अवधारणासहित दिगो विकासको बाटो समातेको बताइएको छ।

स्थानीय गोविन्द सापकोटा भन्छन्, “अबको २४ वर्षमा सबै वडामा कालोपत्रे सडक पुग्ने लक्ष्य देखिन्छ। यो हामीभन्दा पनि छोराछोरी र नातिनातिनीका लागि लाभदायक हुनेछ।”

उपप्रमुख दुर्गाकुमार बरालका अनुसार, परम्परागत ‘माटो र बाटो नै विकास’ भन्ने अवधारणाबाट बाहिर निस्कँदै, नगरपालिका अब समग्र आर्थिक, सामाजिक, वातावरणीय र सुशासन क्षेत्रमा पनि योजना अघि बढाइरहेको छ। पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न नगरमै पूर्वाधार परीक्षण प्रयोगशाला स्थापना गरिएको र आन्तरिक आम्दानीको दायरा पनि बढाइएको छ।

चियापछि सूर्योदयका किसानहरूले मुख्य रूपमा दूध उत्पादन गर्छन्। कृषि उत्पादन बजारसम्म पुर्‍याउन बारहमासी सडकले ठूलो सहजता ल्याएको किसानहरूको भनाइ छ। भारतसँग जोडिएका मानेभञ्ज्याङ, पशुपतिनगर, फाटक, फिक्कल, हर्कटे, आइतबारे र गोर्खे यहाँका प्रमुख व्यापार केन्द्र हुन्। किसान सरोज पोखरेलका अनुसार, पहिले गाउँको कुनाबाट बजार पुग्न पाँच घण्टासम्म लाग्थ्यो, तर अब सडक संरचनाले ती सबै बाधा हटाइदिएको छ।

सडक गुरुयोजनाअनुसार सूर्योदयमा दुईपाङ्ग्रे सवारी (मोटरसाइकल) सबैभन्दा धेरै—४५% प्रयोगमा छन्। त्यसपछि जिप/कार २६%, ट्रयाक्टर १७% र ट्रक/बस १२% छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका