Wednesday, July 1, 2026
Homeसामाचारसडकको चट्टान फोर्न नसकेपछि केमीकलको प्रयोग ,यसरी प्रयोग गरिन्छ केमीकल

सडकको चट्टान फोर्न नसकेपछि केमीकलको प्रयोग ,यसरी प्रयोग गरिन्छ केमीकल

ओखलढुङ्गा: मोलुङ करिडोर सडक निर्माणको क्रममा हरिबोले भीरको कठोर चट्टान फोर्न केमिकल प्रयोग गरिने भएको छ। लामो समयसम्म मेसिनबाट चट्टान नफुटेपछि वैकल्पिक उपायस्वरूप केमिकल प्रयोगको तयारी गरिएको हो।

सुनकोशी गाउँपालिका–६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारा हुँदै तीन किलोमिटर नयाँ ट्रयाक खोल्नुपर्ने कार्य अन्तर्गत हरिबोले भीरमा अवस्थित २०० मिटरको चट्टानले सडक निर्माण रोकेको थियो। ब्रेकरमार्फत पटक–पटक प्रयास गर्दा पनि कटान गर्न नसकेपछि अब केमिकलको सहयोग लिइने भएको हो।

निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवा का प्रोपाइटर तेजबहादुर भुजेलका अनुसार, आवश्यक कम्प्रेसर मेसिन ल्याइसकेकाले चट्टानमा ड्रिल गरेर केमिकल हाल्ने काम सुरु गरिनेछ।

यसरी गरिन्छ केमिकल प्रयोग
ब्लास्टर रामप्रसाद पन्थीका अनुसार, कम्प्रेसर मेसिनले ढुङ्गामा पाँचदेखि आठ फिट गहिरा प्वाल खनिन्छन्। पाँच फिट प्वालमा करिब २.५ लिटर र आठ फिट प्वालमा ३.५ लिटर केमिकल हालिन्छ। प्वालमा १२ देखि ७२ घण्टासम्म केमिकल राख्दा चट्टान चर्केर टुक्रन्छ। चट्टानको बनावट र आवश्यकताअनुसार प्वालको गहिराइ र केमिकलको मात्रा तय गरिन्छ।

जिल्लामा यो प्रविधि पहिलोपटक प्रयोग हुन लागेको हो। यदि केमिकलबाट पनि चट्टान फुटाउन नसकेमा अन्तिम उपायस्वरूप विस्फोटक (ब्लास्टिङ) प्रयोग गरिने निर्माण कम्पनीले जनाएको छ। यद्यपि, ठेक्का सम्झौतामा ‘ब्लास्टिङ आइटम’ नसमावेश भएकाले अहिले केमिकल विधिमा जोड दिइएको हो।

परियोजनाको प्रगति र लक्ष्य
हर्कपुरदेखि मोलुङ दोभानसम्म करिब चार किलोमिटर सडक कालोपत्र गर्ने र दोभानदेखि दुई किलोमिटर ५०० मिटर सडक कटिङ गर्ने जिम्मा महालक्ष्मी भुजेल जेभीले पाएको हो।

यो परियोजनाको ठेक्का २०७९ माघ २३ गते रु २५ करोडको लागतमा सम्झौता गरिएको हो, जसलाई आगामी २०८१ माघ २३ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालय हर्कपुरका इन्जिनियर दीपककुमार दासले जानकारी दिनुभयो।

हरिबोले भीरको चट्टान फोरेर ट्रयाक जोडिएपछि ओखलढुङ्गा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडिने छोटो दूरीको वैकल्पिक सडक मार्ग खुल्नेछ, जसले स्थानीय यातायात र आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका