काठमाडौं: सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठक बस्ने समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति रहेका छन्।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयले गरेका कामकारबाही, हालसम्मको कार्यप्रगति तथा आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट तयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग प्रत्यक्ष छलफल गरिनेछ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरूको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २:३० बजेका लागि बोलाइएको छ। बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको “सङ्घीय निजामती सेवा विधेयक, २०८०” माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गरिनेछ।


