Friday, February 7, 2025
Homeसामाचारसगरमाथा संवादको घोषणा गर्दै सरकार

सगरमाथा संवादको घोषणा गर्दै सरकार

काठमाडौँ: सरकारले आगामी जेठको पहिलो साता ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीका साथ आज यसको घोषणा गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोहमार्फत संवादको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

समारोहमा मन्त्री, सचिव, कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रतिनिधि, जलवायु क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको उपस्थिति रहने बताइएको छ। जलवायु परिवर्तनका प्रभाव र समाधानमा नेतृत्व प्रदान गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद आयोजना गर्न लागिएको हो।

परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले यसका लागि विभिन्न समिति गठन गरी तयारी थालेका छन्। मन्त्रिपरिषद्ले सगरमाथा संवादलाई दुई वर्षमा एकपटक आयोजना गर्ने निर्णय गरिसकेको छ। आगामी जेठ २, ३ र ४ गते यो संवाद आयोजना गर्ने प्रस्ताव गरिएको छ।

वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार संवादलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको एक अंगका रूपमा विकास गरिनेछ। संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउने तयारी गरिरहेको छ।

पहिलोपटक हुन लागेको सगरमाथा संवादको मुख्य विषयवस्तु ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ। संवादमा हिमाली देशहरूमा जलवायु परिवर्तनका असर र समाधानबारे विषयगत छलफल गरी निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने योजना छ।

नेपालले न्यून कार्बन उत्सर्जनका बावजूद जलवायु परिवर्तनका उच्च जोखिम सामना गर्नु परेको पीडा, क्षतिपूर्ति प्राप्ति, र नेपालले प्रदान गरेका वातावरणीय सेवाबापतको भुक्तानीका लागि संवादका क्रममा पैरवी गरिने बताइएको छ।

संवादको तयारीका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा निर्देशन समिति, प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा व्यवस्थापन समिति र वन मन्त्रालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ।

संवादले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायमा एकरूपता ल्याउने, जलवायु न्यायका लागि पैरवी गर्ने, तथा जलवायु विज्ञान र प्रविधिको विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

यस संवादमा विशेषगरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानमा कार्यरत विज्ञ, राष्ट्रिय र अन्तर्राष्ट्रिय निजी क्षेत्रका प्रतिनिधि, सञ्चार विज्ञ, र समाजका प्रभावशाली व्यक्तित्वलाई निमन्त्रणा गरिनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका