काठमाडौँ: सगरमाथा आरोहणको ७२ वर्षे इतिहासमा कीर्तिमान, प्रतिस्पर्धा र होडबाजी दिनप्रतिदिन बढ्दो छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण आफैँमा जोखिमपूर्ण तथा चुनौतीपूर्ण यात्रा हो। यसका बाबजुद विभिन्न नेपाली तथा विदेशी आरोहीहरूले नयाँ–नयाँ कीर्तिमान कायम गर्दै आएका छन्।
सगरमाथा तीसपटक चढेर विश्व कीर्तिमान बनाएका कामीरिता शेर्पा, एकै सिजनमा तीनपटक चढेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका अवस्थामै सगरमाथा पुगेका हरिबहादुर बुढा, बिनाअक्सिजन १० पटक आरोहण गरेर ख्यातिप्राप्त ‘हिउँचितुवा’ स्व. आङ्रिता शेर्पाजस्ता आरोहीहरूको कीर्तिमान सूची लामो छ। कोहीले सबैभन्दा कम उमेरमा, कोहीले सबैभन्दा छोटो समयमा तथा कोहीले बिनाअक्सिजन सगरमाथा चढेर कीर्तिमान बनाएका छन्।
२० दिनमा चारपटक सगरमाथा चढ्ने लक्ष्य
त्यही सिलसिलामा, सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ निवासी २८ वर्षीय टासी ग्याल्जेन शेर्पा हाल २० दिनभित्र चारपटक सगरमाथा चढ्ने उद्देश्यले नयाँ कीर्तिमानको प्रयासमा छन्।
“बीस दिनभित्र चारपटक सगरमाथा चढ्ने मेरो लक्ष्य हो,” उहाँले बताउनुभयो। सन् २०१७ देखि पर्वतारोहणमा सक्रिय टासीले हालसम्म चारपटक सगरमाथा सफलतापूर्वक चढिसक्नुभएको छ। उहाँले आमादब्लम, चोयु, मकालु र चीनको सिसापाङ्मा हिमाल पनि आरोहण गर्नुभएको छ।
पारिवारिक प्रेरणा र कीर्तिमानको लक्ष्य
टासीका बुबा पनि सगरमाथा आरोही हुनुहुन्थ्यो। बुबाकै प्रेरणाले आफूले पर्वतारोहणमा लागेर नयाँ कीर्तिमान बनाउने लक्ष्य राखेको टासीले बताउनुभयो। उहाँले दावाफुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथा चढेको कीर्तिमान तोड्ने लक्ष्य राख्नुभएको छ।
उहाँको यो अभियान एटके एक्सपिडिसन कम्पनीमार्फत भइरहेको हो। यसअघि टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडको रूपमा काम गर्नुभएको छ। परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।
विश्वस्तरमा नेपाललाई चिनाउने लक्ष्य
टासीले आफूलाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरिता शेर्पाजस्ता प्रसिद्ध आरोहीहरूको पंक्तिमा राख्ने लक्ष्य राखेका छन्। सगरमाथामा नयाँ कीर्तिमान राखेपछि नेपालमा अझ बढी विदेशी पर्यटक आकर्षण गर्ने दिशामा लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिका लगायतका देशका नागरिकहरूलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउँदै उहाँले आगामी दिनमा सातवटै महादेशका अग्ला हिमाल चढ्ने योजना रहेको जानकारी दिनुभयो।