Friday, March 6, 2026
Homeसामाचारसकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

मुस्ताङ: ‘मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने नारासहित सञ्चालन गरिएको पाँचदिने बृहत् सरसफाइ तथा जनचेतनामूलक अभियान शनिबार समापन भएको छ।

जिल्ला समन्वय समितिको अगुवाइमा मुस्ताङका पाँचवटै स्थानीय तहले संयुक्त रूपमा सञ्चालन गरेको अभियानको समापन म्याग्दी–मुस्ताङ सिमाना काभ्रेभिरमा गरिएको हो।

यसअघि अभियान चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाबाट सुरु गरिएको थियो। अभियानमा थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनसहित सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो।

अभियानको उद्देश्य धार्मिक तथा पर्यटकीय क्षेत्रको फोहरमैला व्यवस्थापनमार्फत पर्यटक, व्यवसायी तथा आम नागरिकमा सरसफाइप्रति चेतना अभिवृद्धि गर्नु रहेको थियो।

एक सय ४५ किलोमिटर दूरीमा सरसफाइ

कोरला नाकाबाट सुरु भएको फोहर व्यवस्थापन अभियान न्हेचुङ भन्सार, झोङ गुफा, ठिङ्गर, लोमान्थाङ, लोघेकर गुम्बा, लुरी गुम्बा, छुसाङ, कागबेनी श्राद्धस्थल, मुक्तिनाथ, ढुम्बाताल, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, सेकुङ ताल, लेते हुँदै घाँसासम्म फैलिएको थियो। अभियानले करिब १४५ किलोमिटर दूरी समेटेको थियो।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार अभियानमा झन्डै १० ट्रयाक्टरभन्दा बढी फोहर संकलन गरिएको छ। “सङ्कलन गरिएको नकुहिने फोहरलाई जोमसोमस्थित प्रशोधन केन्द्रमा पठाउने तयारीमा छौं,” अध्यक्ष विष्टले जानकारी दिनुभयो।

जलवायु परिवर्तनप्रति चिन्ता

अभियानको समापनमा सरोकारवालाहरूले जलवायु परिवर्तनका असरप्रति गम्भीर चिन्ता व्यक्त गरे। जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले हिमाली क्षेत्रमा तापक्रम वृद्धि र हिमाल पग्लँदै गएकोले वातावरण सन्तुलनमा प्रतिकूल असर परेको बताउनुभयो। “प्राकृतिक सौन्दर्यता र पर्यावरण जोगाउन सके मात्र दिगो पर्यटन सम्भव हुन्छ,” उहाँले भनिन्।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले फोहरमैला व्यवस्थापन वडा तहबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले स्थानीय तहलाई अधिकार प्राप्त भएकाले सरसफाइ अभियानमा पूर्ण रुपमा जिम्मेवारी लिनुपर्ने बताए।

समन्वयको उदाहरणीय अभ्यास

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अभियानले स्थानीय तहबीचको समन्वय, मित्रता र एकताको उदाहरण प्रस्तुत गरेको बताउँदै भने, “यसले देशभरका सात सय ५३ वटै पालिकाका लागि अनुकरणीय अभ्यास प्रस्तुत गरेको छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका