Thursday, August 6, 2026
Homeराजनीतिसंसदमा रुखो अभिव्यक्तिपछि गृहमन्त्री गुरुङले मागे माफी

संसदमा रुखो अभिव्यक्तिपछि गृहमन्त्री गुरुङले मागे माफी

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभाको बैठकमा सांसदहरूसँग भएको संवादका क्रममा आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन्। मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरूसँग चर्काचर्की भएपछि उनले रोष्ट्रमबाटै क्षमायाचना गरेका हुन्।

छलफलका क्रममा निर्मला पन्त हत्याकाण्डको प्रसङ्ग उठेपछि गृहमन्त्री गुरुङ आक्रोशित बनेका थिए। उनले ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै चेतावनीपूर्ण शैलीमा जवाफ दिएका थिए। मन्त्रीको उक्त अभिव्यक्तिलाई संसदीय मर्यादाविपरीत भन्दै सदनमा आलोचना भएपछि उनले आफ्नो व्यवहारप्रति खेद व्यक्त गरेका हुन्।

पुनः सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु।”

उनले आफू नयाँ भएकाले अनुभवी सांसदहरूबाट सिक्ने क्रममा रहेको उल्लेख गर्दै आफ्नो अभिव्यक्तिलाई सोही सन्दर्भमा बुझिदिन आग्रह गरे।

यद्यपि, मन्त्री गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी छलफलमा निर्मला पन्त हत्याकाण्डको प्रसङ्ग जोडिएको विषयमा भने असन्तुष्टि जनाए। उनले भने, “हामी विपद् व्यवस्थापनको विषयमा छलफल गर्दै थियौँ, तर विषयकेन्द्रित नभई निर्मला पन्त हत्याकाण्ड जोडियो। निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनबीच के सम्बन्ध छ? माननीयज्यूहरूले विषयकेन्द्रित भएर छलफल गरिदिनुपर्छ।”

गृहमन्त्रीले आफ्नो रुखो व्यवहारका लागि सार्वजनिक रूपमा माफी मागेपछि राष्ट्रियसभाको बैठकको वातावरण केही सहज बनेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका