विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संशोधनका लागि उपयुक्त समय आएको बताएका छन्।
पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित ‘हाम्रो मत राष्ट्रिय दैनिक’को २२औं वार्षिकोत्सव समारोहको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले संविधान परिमार्जन र संशोधनका लागि गम्भीर छलफल आवश्यक रहेको बताए। संविधान संशोधनबारे सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो।
उनले शासकीय स्वरूप नै वर्तमान अस्थिरताको मूल कारण भएको उल्लेख गर्दै अहिलेको व्यवस्था अनुरूप उपयुक्त शासकीय ढाँचा र निर्वाचन प्रणाली तय हुनुपर्नेमा जोड दिए।
राजनीतिक प्रणाली र आर्थिक विकासबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले देशमा प्रशस्त प्राकृतिक स्रोतसाधन हुँदाहुँदै पनि आर्थिक क्षेत्र सुदृढ नहुनु चिन्ताजनक भएको बताए। साथै, आर्थिक नीतिमाथि पनि व्यापक छलफल आवश्यक रहेको उनको भनाइ थियो।
अध्यक्ष दाहालले सरकारबाट सेवा प्रवाह प्रभावकारी रूपमा हुन नसकेको जनाउँदै त्यसकै कारण राजनीतिक दल र नेताप्रति जनताको भरोसा घट्दै गएको बताए। उनले सरकार जनताको आवश्यकता र आकांक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले केही दिनमै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए। उनले सम्मेलनबाट महत्वपूर्ण आर्थिक गतिविधि सुरू हुने आशा व्यक्त गर्दै यस वर्ष घोषणा गरिएको ‘पर्यटन वर्ष २०८२’ मार्फत पनि प्रदेशको आर्थिक गतिविधि सशक्त हुने विश्वास व्यक्त गरे।