काठमाडौं । सरकार गठन भएको करिब सय दिनपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न सरोकारवाला पक्षसँग संवादलाई तीव्रता दिएका छन्। पछिल्लो एक सातायता प्रधानमन्त्रीले निर्माण व्यवसायी, उद्योगी, होटल व्यवसायी, महिला उद्यमी, जुत्ता उत्पादक तथा विश्वविद्यालयका उपकुलपतिसँग क्रमिक छलफल गरेका हुन्।
सरकार गठनपछि लामो समयसम्म निजी क्षेत्रसँग औपचारिक संवाद नगरेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग–व्यवसायमा देखिएका समस्या, लगानी वातावरण र नीतिगत सुधारका विषयमा प्रत्यक्ष छलफल थालेका छन्।
व्यवसायीहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले सरकारले उद्यमीलाई दुःख दिने उद्देश्य नराखेको स्पष्ट पार्दै कानुनको पालना गर्ने व्यवसायीलाई राज्यले पूर्ण सहयोग गर्ने बताएका छन्। उनले मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउनु सरकारको प्राथमिकता रहेको उल्लेख गरेका छन्।
विभिन्न क्षेत्रसँग निरन्तर संवाद
पछिल्ला दिनहरूमा प्रधानमन्त्री शाहले जुत्ता उत्पादक संघ, होटल संघ नेपाल (हान), महिला उद्यमी महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
त्यसैगरी, विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूसँग उच्च शिक्षा सुधार, सुशासन र प्राज्ञिक वातावरणका विषयमा पनि प्रधानमन्त्रीले विस्तृत संवाद गरेका छन्।
संवादलाई सकारात्मक रूपमा हेरिँदै
राजनीतिक विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले प्रधानमन्त्रीले विभिन्न क्षेत्रसँग संवाद सुरु गर्नु सकारात्मक कदम भएको बताएका छन्। उनका अनुसार सरकार नीति निर्माणसँगै सरोकारवालाको धारणा सुन्न अग्रसर हुनु लोकतान्त्रिक अभ्यासको राम्रो संकेत हो।
राजनीतिक विश्लेषक डा. पिताम्बर भण्डारीले पनि विषयगत रूपमा सम्बन्धित पक्षसँग छलफल अघि बढाउनु सरकारको सकारात्मक प्रयास भएको टिप्पणी गरेका छन्। उनले संवादमार्फत नीतिगत सुधार र समस्या समाधानमा सहमति निर्माण गर्न सहज हुने बताएका छन्।
विपक्षीसँग संवाद अझै हुन बाँकी
प्रधानमन्त्री शाहले निजी क्षेत्र, शिक्षाक्षेत्र तथा विभिन्न संस्थाका प्रतिनिधिसँग संवाद अघि बढाए पनि संसद्का प्रमुख विपक्षी दलका नेताहरूसँग भने हालसम्म औपचारिक छलफल गरेका छैनन्। यसलाई लिएर विपक्षी दलहरूले सरकारप्रति आलोचना गर्दै आएका छन्।
यद्यपि, प्रधानमन्त्रीले पछिल्ला दिनहरूमा निजी क्षेत्र र विभिन्न सरोकारवाला निकायसँग निरन्तर संवाद थालेपछि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ।


