काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा मंगलबार अमेरिका र क्युबाबीचको दशकौँ पुरानो तनाव पुनः सतहमा आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनका क्रममा क्युबालाई ‘पूर्ण रूपमा असफल राष्ट्र’ भन्दै त्यहाँको कम्युनिस्ट सरकारमाथि हालसम्मकै कडा दबाब रहेको र सरकार ढल्ने दाबी गरेका छन्।
ट्रम्पले आफ्नो प्रशासन क्युबामा ‘आधारभूत परिवर्तन’ को पक्षमा रहेको बताएका छन्। उनले अमेरिकामा कम्युनिज्म कहिल्यै स्वीकार नगरिने तर क्युबामा स्वतन्त्रता आउने दाबी गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियो क्युबासँगको विषयमा गम्भीर रूपमा संलग्न रहेको जानकारी दिएका छन्।
ट्रम्पको सम्बोधनलगत्तै क्युबाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभा हलबाट बाहिरिएको थियो।
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्जले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै क्युबा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपतिले दिएको अभिव्यक्तिले क्युबाको सार्वभौमसत्ताको वास्तविकता परिवर्तन गर्न नसक्ने उनको भनाइ छ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले पनि ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै क्युबाले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्ने बताएका छन्। उनले क्युबालाई खतराका रूपमा प्रस्तुत गरेर अमेरिकाले आफ्ना कदमलाई उचित ठहराउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
अमेरिका र क्युबाबीचको तनाव सन् १९५९ को क्युबाली क्रान्तिपछि लामो समयदेखि कायम छ। अमेरिकाले क्युबामाथि दशकौँदेखि विभिन्न आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाउँदै आएको छ। ट्रम्प प्रशासनले पछिल्लो समय क्युबामाथि थप दबाब बढाएको छ।
अमेरिकाले लगाएका पछिल्ला ऊर्जा प्रतिबन्धका कारण क्युबामा इन्धन आपूर्ति र विद्युत् व्यवस्थापनमा थप समस्या देखिएको बताइएको छ।
ट्रम्पले यसअघि पनि क्युबाको सरकार र नीतिबारे कडा अभिव्यक्ति दिँदै आएका थिए। महासभामा उनको पछिल्लो अभिव्यक्ति र त्यसपछि क्युबाली प्रतिनिधिमण्डलको बाहिरिने कदमले दुई देशबीचको जारी राजनीतिक तनावलाई पुनः चर्चामा ल्याएको छ।


