Sunday, November 8, 2026
Homeसामाचारसंगठन सुदृढतामार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक : मन्त्री थापा

संगठन सुदृढतामार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री दीपक थापाले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९औं जिल्ला तथा प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उनले निजामती कर्मचारी संगठनले कर्मचारी अधिकारको संरक्षणसँगै पारदर्शी, जिम्मेवार र दक्ष सेवाप्रवाहमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए।

मन्त्री थापाले निजामती कर्मचारी युनियन कर्मचारीको पेशागत अधिकार मात्र नभई सुशासन, जवाफदेहितापूर्ण प्रशासन र नागरिकलाई समयमै सेवा पुर्‍याउने संस्कारलाई बलियो बनाउन उत्प्रेरक हुनुपर्ने उल्लेख गरे। उनले संगठनको मजबुती नै विश्वासिलो सेवा र संस्थागत विकासको आधार हुने बताए।

उनले नयाँ नेतृत्वलाई शुभकामना दिँदै दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गर्न आह्वान गरे। साथै, प्रदेश सरकारले गरेका कामको प्रचारप्रसार गर्न र जनता लाभान्वित हुने गरी अझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रम तीज पर्वको अवसर पारेर आयोजित शुभकामना आदानप्रदानसँगै सम्पन्न भएको थियो। मन्त्री थापाले तीज नेपाली समाजमा सद्भाव, पारिवारिक खुसी र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण पर्व भएको उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष केदार सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले मन्तव्य दिएका थिए। कार्यक्रममा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दै जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका