काठमाडौँ: अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का विभिन्न महासन्धिहरू अनुमोदनका लागि केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले सिफारिस गरेको छ। बैठकले महासन्धि ८१ (श्रम निरीक्षण सम्बन्धी, १९४७), महासन्धि ८७ (सङ्गठन स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षण, १९४८), र वाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको हो।
श्रम ऐन २०७४ को दफा १०२ अनुसार गठन भएको परिषदको बैठक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको थियो। बैठकले अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै श्रम प्रशासन, सामाजिक सुरक्षा, र व्यवसायजन्य सुरक्षा क्षेत्रको सुधारका लागि विभिन्न निर्णय गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रावधानलाई व्यवस्थित गर्न तीन प्रमुख बुँदामा सिफारिस गरेको छ:
व्यवसायजन्य रोगहरूको सूची तयार गर्ने।
कार्यस्थलमा उत्सर्जित हुने तापसम्बन्धी मापदण्ड निर्धारण गर्ने।
राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याउने।
अन्य निर्णयहरू
बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यलाई थप व्यवस्थित बनाउँदै पुनरावलोकन अघि बढाउने निर्णय गरेको छ। सामाजिक सुरक्षाको दायरा बढाउन पहल गर्न पनि सिफारिस गरिएको छ।
बैठकले आगामी फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने श्रम तथा रोजगार सम्मेलनलाई सफल बनाउन सुझाव दिएको छ। साथै, समसामयिक कानुनी परिमार्जनका लागि श्रम सम्बन्धी ऐन र कानुनहरू पुनरावलोकन गर्न परिषदले सरकारलाई निर्देशन दिएको छ।
बैठकले परिषदको कार्यविधि मस्यौदा तयार गर्न मन्त्रालयलाई सिफारिस गरेको छ। यसका साथै, श्रम क्षेत्र सुधारका अन्य योजनाहरू कार्यान्वयन गर्न आवश्यक नीतिगत तथा प्रशासनिक प्रक्रिया अघि बढाउन जोड दिएको छ।