काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय ले मन्त्रालय तथा मातहतका सम्पूर्ण निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको हालैको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीहरूको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई थप व्यवस्थित र मर्यादित बनाउने लक्ष्य राखेको छ।
मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउन कर्मचारीहरूको दैनिक व्यवहार तथा कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार अब मन्त्रालय मातहतका कर्मचारीहरूले सेवाग्राहीसँग अनिवार्य रूपमा शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ। सेवा प्रवाहका क्रममा घुस, उपहार, विशेष सुविधा वा अन्य कुनै अनुचित लाभ लिन नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको मन्त्रालयले जनाएको छ।
आचारसंहिताले पद तथा अधिकारको दुरुपयोग गर्ने, व्यक्तिगत स्वार्थका आधारमा प्रशासनिक निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरेको छ।
कार्यालयको आन्तरिक अनुशासनलाई बलियो बनाउन कर्मचारीहरूलाई कार्यालय समयको पूर्ण पालना गर्न, सरकारले तोकेको औपचारिक पोसाक प्रयोग गर्न तथा सहकर्मीबीच सहयोगात्मक वातावरण कायम गर्न निर्देशन दिइएको छ।
त्यसैगरी सरकारी निर्णय, महत्वपूर्ण कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरणहरू अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा स्पष्ट रूपमा उल्लेख गरिएको छ।


