Sunday, November 8, 2026
Homeसामाचारएनआरएनएको १२औँ महाधिवेशन तयारी तीव्र, “अब निर्वाचनमा कुनै कानुनी अवरोध छैन”

एनआरएनएको १२औँ महाधिवेशन तयारी तीव्र, “अब निर्वाचनमा कुनै कानुनी अवरोध छैन”

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रूपमा अघि बढाएको जनाएको छ। वर्तमान अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको उल्लेख गर्दै संघले हालसम्मका भ्रम हटाउन पत्रकार सम्मेलनमार्फत स्पष्टिकरण दिएको हो।

संघले सदस्यता वितरणका लागि डिजिटल “Membership Information System (MIS)” प्रणाली लागू गरेको छ। हालसम्म ७२ हजार सदस्यता वितरण भइसकेको र थप ५ हजार स्वीकृत हुन बाँकी रहेको जनाइएको छ। जापानबाट १८ हजार र अष्ट्रेलियाबाट १५ हजार ५०० सदस्यता प्राप्त भएको प्रवक्ता फणिन्द्र पन्तले जानकारी दिए।

संघका अनुसार, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा अधिवेशनहरू जारी छन्। हालसम्म १५ एनसीसीले अधिवेशन सम्पन्न गरिसकेका छन्। विधानअनुसार सबै एनसीसी अधिवेशन जुलाई १ देखि ३१ भित्र सकिनुपर्ने प्रावधान छ, जसको आधारमा अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू चयन हुनेछन्।

निर्वाचन प्रक्रियालाई संस्थागत बनाउन संघले निर्वाचन समिति, निर्वाचन अनुगमन समिति र न्यायिक समिति गठन गरिसकेको छ। अधिवक्ता डा. राजेन्द्र घिमिरे निर्वाचन समितिको संयोजक छन्, अनुगमन समिति रामप्रताप थापाको संयोजकत्वमा र न्यायिक समिति भिम उदासको नेतृत्वमा गठन गरिएको छ।

संघले हालसम्मको कार्यकालमा बाढी, भूकम्प, आगलागी, स्वास्थ्य, शिक्षा र बाल संरक्षणजस्ता क्षेत्रमा ४ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाएको छ। युक्रेनमा अलपत्र परेका नेपालीहरूको उद्धार, अक्सिजन प्लान्ट स्थापना, ब्लड बस सञ्चालन र विद्यालयहरूमा डिजिटल सामग्री वितरण उल्लेखनीय कार्यहरू हुन्।

विदेशमा रहेका नेपाली श्रमिकहरूको उद्धार तथा श्रम नीतिमा सुधारका लागि संघले सरकारसँग सहकार्य गर्दै आएको बताइएको छ। साथै, एनआरएन नेपाल डेभलपमेन्ट फण्ड १० अर्ब रुपैयाँबाट सुरु भई अब ५० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको छ। डा. केसीलाई सरकारको लगानी प्रवर्द्धन समिति र वैदेशिक रोजगार बोर्डमा सदस्यको रूपमा समेत नियुक्त गरिएको छ।

संघसँग जोडिएको विवादास्पद मुद्दामा असार ५ गते सर्वोच्च अदालतबाट प्राप्त निर्णयपछि शेष घलेसम्बन्धी रिट निवेदन (नं. ०७९-WO-१५०७) पुनरावेदन गर्ने अनुमति प्राप्त भइसकेको र अक्टोबरमा हुने निर्वाचनमा अब कुनै कानुनी अवरोध नरहेको स्पष्ट गरिएको छ।

अन्त्यमा, संघले सबै पक्षलाई समन्वय, सहभागिता र एकताको सन्देश दिँदै १२औँ महाधिवेशन सफल पार्न एकताबद्ध प्रयास गर्न आह्वान गरेको छ। “हामी प्रवासी नेपाली र मातृभूमिबीचको सेतु बन्ने आफ्नो प्रतिबद्धता अझ बलियो बनाउँदै लान्छौं,” प्रवक्ता पन्तले भने।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका