Friday, March 6, 2026
Homeसामाचारशिक्षक आन्दोलनको प्रभाव : ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ को मिति सारियो

शिक्षक आन्दोलनको प्रभाव : ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ को मिति सारियो

खोटाङ: नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ।

वैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव अब वैशाख २७ गतेदेखि जेठ ४ गतेसम्म हुने गरी सारिएको आयोजक संस्थाका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “महोत्सवको उद्देश्य व्यावसायिक खेलाडी उत्पादन गर्दै जिल्लाको पर्यटन प्रवर्द्धन गर्नु हो। तर अधिकांश सहभागीहरू विद्यालयमा पढ्ने भएकाले शिक्षक आन्दोलनले कार्यक्रम प्रभावित भएको छ।”

छ दिनसम्म सञ्चालन हुने महोत्सवमा १३ विधामा एथलेटिक्स प्रतियोगिता, खुला महिला/पुरुष हाफ म्याराथन, टेबलटेनिस, बुद्धिचाल र साहित्यिक कार्यक्रमहरू आयोजना हुनेछन्।

मुख्य आकर्षणहरू

२१ किमी खुला महिला/पुरुष हाफ म्याराथन

प्रथम पुरस्कार: रू ७७,७७७

द्वितीय: रू ५५,५५५

तृतीय: रू २५,५५५

चौथो–सातौँ: रू ५,५५५ देखि १५,५५५

ट्रफी, मेडल र प्रमाणपत्रसहित

१० किमी महिला/पुरुष (१५ वर्षमाथिका)

प्रथम: रू १५,०००

द्वितीय: रू १०,०००

तृतीय: रू ७,०००

विशेष उमेर समूहका दौड प्रतियोगिता

१० वर्षमुनिका लागि १ माइल

१२ वर्षमुनिका लागि २ किमी

६० वर्षमाथि पुरुष, आमाहरूको दौड

१२–१५ वर्ष समूहका लागि ७ किमी

३५ वर्षमाथिका राजनीतिज्ञ, शिक्षक, व्यवसायी आदि

टेबलटेनिस प्रतियोगिता (जुनियर, सिनियर महिला/पुरुष)

प्रथम पुरस्कार: रू १०,००० देखि २५,०००

खुला बुद्धिचाल प्रतियोगिता

प्रथमदेखि छैटौँ स्थानसम्म नगद पुरस्कार: रू २५,००० देखि रू ४,०००

साहित्यिक कार्यक्रम
महोत्सवको अन्तिम दिन गीत, गजल, कविता वाचन तथा गायन हुनेछ। साथै, बाहिर जिल्लाबाट आएका महिला साहित्यकारमध्ये एक जनालाई विशेष सम्मान प्रदान गरिनेछ।

स्थलहरू

बुद्धिचाल प्रतियोगिता: जिल्ला समन्वय समिति खोटाङ सभाहल

टेबलटेनिस र साहित्यिक कार्यक्रम: माटिकोरे खेलमैदानस्थित बहुउद्देश्यीय कभर्डहल

बजेट र व्यवस्थापन
महोत्सवको लागि करिब रू ३९ लाख ५५ हजारको बजेट अनुमान गरिएको छ। संयोजनका लागि जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको नेतृत्वमा मूल समिति गठन गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका