काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐन जारी नहुँदासम्म आन्दोलन जारी राख्न शिक्षकहरूलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
पटक–पटक भएका वार्ताहरू विफल भएपछि अब आन्दोलनलाई धैर्यपूर्वक अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
‘शिक्षक साथीहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभयो, पटक–पटक सम्झौता गर्नुभयो, तर पटक–पटक धोका पनि भयो। यसपटक त्यो स्थिति दोहोरिन नदिने जिम्मेवारी हामी सबैको हो,’ उनले भने।
उनका अनुसार शिक्षकहरूको माग अझै धेरै बाँकी छन्, र ती माग सम्बोधन नभएसम्म आन्दोलन रोकिनु हुँदैन।
एमालेकी नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउनुले सरकार शिक्षकहरूको मागप्रति कत्तिको गैरजिम्मेवार छ भन्ने कुरा प्रमाणित भएको बताइन्।
शिक्षकहरूको माग कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै प्रचण्डले अघिल्ला सम्झौताहरू कार्यान्वयन नगरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक भूमिका रहेको टिप्पणी गरे।