Saturday, August 15, 2026
Homeसामाचारशहीद श्रीयमका बुबा गणेश भन्छन्- शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं

शहीद श्रीयमका बुबा गणेश भन्छन्- शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं

काठमाडौं। जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन्। उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा शहीद परिवारका सबै सदस्यलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरे।

“अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ। सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं। कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरुन्, तर न त जेनजीको पछि लागौं, न त सरकारको,” उनले भने।

उनका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व शहीद परिवारले नै लिनुपर्छ। “हामी आफैंले माग तय गरौं, त्यसपछि सिंहदरबार जाऔं, मन्त्रीहरूलाई भेटौं र हाम्रो आवाज राखौं। सरकारले नसुने सिंहदरबार अगाडि धर्ना बस्न पनि तयार रहौं,” चौलागाईंले स्पष्ट पारे।

अघिल्ला सरकारहरूसँग तुलना गर्दै उनले वर्तमान सरकारप्रति असन्तोष प्रकट गरे। “सरकारले शहीदको आवाज सुन्दैन्, अन्तरिम सरकार पनि पहिलेको जस्तै हो,” उनले टिप्पणी गरे।

जेनजी आन्दोलनको नेतृत्वसम्बन्धी अन्योल हटाउनुपर्नेमा जोड दिँदै उनले भने, “पहिलो नम्बरमा स्पष्ट हुनुपर्छ—जेनजीको आधिकारिक नेतृत्व को हो? त्यो जेनजीले नै स्पष्ट पार्नुपर्छ।”

देश निर्माणको कार्यमा सबैलाई मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै उनले थपे, “युवाहरूले रोजगार पाउनुपर्छ, तर सरकारको पहिलो प्राथमिकता शहीद परिवार हुनुपर्छ। जसको रगत बग्यो, पहिला उनीहरूलाई खुसी बनाउनु सरकारको कर्तव्य हो।”

चौलागाईंले असोज १८ गते, शनिबार बिहान १० बजे शहीद परिवारका तर्फबाट सिंहदरबार जाने कार्यक्रम रहेको जनाउँदै सबै शहीद परिवारका प्रतिनिधिहरूलाई सिंहदरबार अगाडि भेला हुन आग्रह गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका