म्याग्दी, ८ कात्तिक । खैरो स्वेटर, कोट, निलो ट्र्याकप्यान्ट र ढाका टोपीमा सिँगारिएका लालबहादुर जिसीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक देखिन्थ्यो। जलजला गाउँपालिका–२ ओखरबोटका १०० वर्षे जिसीले आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरूको उपस्थितिमा शताब्दी जन्मदिन मनाउँदा हर्षले मुस्कुराइरहेका थिए।
एक सय वर्ष पुगेका पालिकाभरिका ज्येष्ठ पुरुष र महिलाको पहिचान गरी घरमै पुगेर सम्मान गर्ने, उहाँहरूको जीवन भोगाइ, अनुभव र सुझावलाई अभिलेख राख्ने, परम्परागत ज्ञान र सीपको पुस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए।
जिसीले जीवनभर खेतीकिसानी र पशुपालन गर्दै पाँच सन्तान हुर्काए। उहाँले अहिलेसम्म अस्पतालमा भर्ना हुन नपरेको र एलोपेथिक औषधि सेवन नगरेको बताउनुभयो। “दूध, घ्यू, दही, माछा, मासु र रासायनिक मलबिना उत्पादन भएको ताजा तरकारी र फलफूल खाने बानीका कारण म बिरामी परेको छैन,” जिसीले मुस्कुराउँदै भने, “सामान्य रोग हुँदा गाउँघरमै पाइने जडीबुटी खाएर निको हुने गर्छु।”
राणा शासनदेखि संघीय गणतन्त्रसम्मको राजनीतिक परिवर्तनको साक्षी रहनुभएका जिसीले युवाकालमा बुटवल पुगेर नुन ल्याउन एक महिना लाग्ने गरेको स्मरण गर्नुभयो। “त्यो बेला जुत्ता, चप्पल लगाउन पाइनथ्यो, नयाँ कपडा लगाउन चाडपर्व कुर्नुपर्थ्यो,” उहाँले भने, “आज पूर्वाधार र चेतनाको विकाससँगै जनजीवन धेरै सहज भएको छ।”
खेतीयोग्य जमिन बाँझिनु, बसाइँसराई बढ्नु र खाद्यान्नमा परनिर्भरता बढ्दो हुनुमा जिसीले चिन्ता व्यक्त गर्नुभयो। स्थानीय खानेपानी उपभोक्ता समितिको नेतृत्व पनि गर्नुभएका जिसीका चार छोरा, एक छोरी र २० जना नाति–नातिना तथा पनाति छन्।
१७ वर्षको उमेरमा १३ वर्षीया नन्दकुमारीसँग विवाह गर्नुभएका जिसी अहिले पनि स्पष्ट बोल्न सक्नुहुन्छ, धार्मिक पुस्तकका चित्र हेरेर समय बिताउनुहुन्छ र घर वरपर स्वयम् हिँडडुल गर्नुहुन्छ। “खाना खान र शौचालय जान सहयोगीको आवश्यकता पर्दैन,” उनका माइला छोरा हरिबहादुर जिसीले बताए।
लालबहादुर जिसीलाई जलजला गाउँपालिका, बराह टोल विकास संस्था, र घर्ती–क्षेत्री–लामिछाने बन्धु समाजले संयुक्त रूपमा घरमै पुगेर दोसल्ला ओढाई र प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको थियो। गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो।


